सुदूरपश्चिमबाट उदाएकी विद्यार्थी नेता बम अनेरास्ववियुको केन्द्रीय सचिव लड्दै 

अनेरास्ववियुको केन्द्रीय सचिवालय सदस्य तथा सुदूरपश्चिम प्रदेश सचिव रक्षा बमले २३औँ महाधिवेशनमा केन्द्रीय सचिवका लागि प्रतिस्पर्धा गर्ने बताएकी छन् ।

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशन फागुन २ देखि ४ गतेसम्म काठमाडौंमा हुँदैछ । उक्त महाधिवेशनमा आफूले केन्द्रीय सचिवमा उम्मेदवारी दिने बमले बताइन् ।

धनगढीमा रहेर अनेरास्ववियुमा सक्रिय विद्यार्थी नेता बमले छोटो समयमै आफूलाई संगठनमा अब्बल बनाएकी छन् ।उनी २०६५ सालमा सुदूरपश्चिमको विकट पहाडी जिल्ला दार्चुलाको छान्ना तिंकरी कन्या माविमा सात कक्षामा पढ्दै गर्दा अनेरास्ववियुमा संगठित हिसाबले जोडिएकी थिइन् ।

उच्च शिक्षा हासिल गर्न धनगढी आएपछि कैलाली बहुमुखी क्याम्पसबाट अनेरास्ववियुमा सक्रिय भएर काम गरेको अनुभव उनीसँग छ । उनले कैलाली बहुमुखी क्याम्पसमा कमिटी सदस्य हुँदै कोषाध्यक्ष, सहसचिव र लामो समय कार्यवाहक अध्यक्ष भएर काम गरेकी थिइन् ।

राज्यद्वारा पछाडि पारिएको सुदूरपश्चिमका विद्यार्थीको हकहित र महिलामाथिको विभेद अन्त्यका लागि लड्न आफू राजनीतिमा लागेको बम बताउँछिन् । देशभरका विद्यार्थीहरूसँग सांगठनिक रूपमा जाेडिएर काम गरेकाे हुँदा सचिवकाे प्रतिस्पर्धा आफ्ना लागि सहज हुने उनकाे भनाइ छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240