ललितपुर महानगरका सबै मुख्य सडकमा एक वर्षभित्र स्मार्ट लाइट
ललितपुर महानगरपालिकाले आगामी एक वर्षभित्र सबै मुख्य सडकमा स्मार्ट लाइट राख्ने तयारी गरेको छ । २०८१ असार भित्र मुख्य चोकहरुमा १२ वटा ‘हाइमास्ट लाइट’ र सडकहरूमा ‘स्मार्ट स्ट्रिट लाइट’ राखिसक्ने महानगरले जनाएको हो ।

महानगरपालिकाले स्मार्ट लाइट जडानको कार्यक्रम आर्थिक वर्ष २०७८/७९ को बजेटमै राखेको थियो । तर, सो आवमा जडान भने हुन सकेन । सो वर्षको योजना बमोजिम चालु आर्थिक वर्षको असारसम्म १२ वटा चोकमा हाइमास्ट स्मार्ट बत्ती जडान गरिसक्ने महानगरपालिकाले जनाएको छ । तीमध्ये चारवटा चोकमा बत्ती जडान भइसकेको महानगरपालिकाले जनाएको छ । स्मार्ट स्ट्रिट लाइट राख्ने काम आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने तयारी महानगरले गरेको छ ।
महानगरका अनुसार विद्युत प्राधिकरणसँगको सहकार्यमा हाइ मास्ट स्मार्ट सडक बत्ती जडान गरेको जनाएको छ ।
पुल्चोक क्याम्पस, पुल्चोकस्थित महानगरपालिकाको भवन अगाडि, जावलाखेल र लगनखेलमा यो बत्ती जडान भइसकेको महानगरपालिकाका पूर्वाधार महाशाखा प्रमुख वरिष्ठ इन्जिनियर श्रीकुमार महर्जनले जानकारी दिए ।
महर्जनका अनुसार कुपन्डोलस्थित बागमती पुल, पुल्चोक, लगनखेल चोक बसपार्क, बटुक भैरब मन्दिरअगाडि, बुङमती बसपार्क, शंखपार्क शंखमुल, ठाडोढुंगा चोक, धोबीघाट ढुंगेधारा, महालक्ष्मी स्थानमा रहेको महालक्ष्मी मन्दिरमा बत्ती जडान गर्न लागिएको छ । एक साताभित्र सबै चोकमा हाइमास्ट स्मार्ट सडकबत्ती जडान भइसक्ने उनले बताए ।- (onlinelkhabar)

राकेश खड्का यस कामना टेलिभिजन तथा यस बाट सञ्चालित अन्लाईन पत्रीकामा व्यवस्थापकको भुमिका निर्वाह गरिरहनुभएको छ । उहाँ समाचार तथा विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
उहाँसंग सम्पर्कको लागि – ९८५८४८८०२३
