लैंगिक समानता, समान व्यवहारका लागि जनचेतना र जिविकोपार्जनमा सहयोग गर्दै DHS बझाङ

उमेरले ४८ वसन्त पार गरेकी बझाङको बुंगल नगरपालिका ९ देउलिकोटकी नर्मा पातली सोही वडाको मिलिजुलि महिला समूहकि सदस्य हुन् । नरमा पातलिको दुइटा छोरी बिहे गरेर पराइ घर गईसकेकी छन् भने एउटा छोरा सानो नौ वर्षको छन् । दुर्भाग्य भनौं या त संयोग झन्डै चार महिना अघि उपचारको लागि धनगढी गईरहेका नर्मा पातली र उहाँका श्रीमान नरेश पातली बैतडिको दुदिलाखानमा जिप दुर्घटनामा परे । दुर्घटनाबाट दुइटै अपांग बने । सानो छोरा, विपन्न परिवार त्यसैमाथी पातली दम्पती अपांग । घरव्यवहार चलाउन निकै मुस्किल थियो । सोही अवस्था देखेर केही दिन अघि मात्रै दलित सहयोग समाज बझाङले समान व्यवहार परियोजनाद्वारा उहाँलाई करिब अठ्तिस हजार बराबरको चारवटा बाख्रा प्रदान गर्यो । आफैले रोजेर बाख्रा किनेकी नर्मा पातली निकै खुशी छन् । भन्छन् “छोरा सानो छ । बुढेसकालमा छोरालाई हुर्काउने बाटो खुल्यो, अब यसैबाट बाख्राको संख्या वृद्धि गरि घरखर्च र छोरालाइ हुर्काउने पढाउने तथा लेखाउने सोच बनाएकी छु।”

दलित सहयोग समाज बझाङद्वारा सञ्चालित समान व्यवहार परियोजना अन्तर्गत हरेक महिना छलफलमा आउने नर्मा पातली अहिले छुवाछुत, र महिनावारी हुँदा गोठमा बस्दिनन् । घरभित्रै बस्छिन् । भन्छिन् – छुवाछूत मान्दिन । छोराछोरी बराबर हुन् सोचेकी छु ।

वार्ड नम्बर ९ बाँसकी मन्सरा देवि ओखेडा मिलिजुली महिला समूहकै सदस्य हुन । मन्सरा देवि ओखेडाको श्रीमान अपांग प्यारालाइसिस ग्रस्त छन् । घरमा काम गर्ने, चुलोचौको र अन्य सबै हेर्ने अनि आर्थिक पनि हेर्नपर्ने काम मन्सराकै हुँदा निकै समस्या थियो । दलित सहयोग समाज बझाङ र युनाइटेड मिसन टु नेपालको साँझेदारिमा सञ्चालित समान व्यवहार परियोजनाबाट उहाँले ३८ हजार बराबरको बाख्रा पाएपछि निकै राहत हुनेमा ढुक्क छन् ।

दलित सहयोग समाज बझाङकै समान व्यवहार परियोजना अन्तर्गतबाटै सहयोग पाएका बुंगल नगरपालिका वार्ड नम्बर ९ दुदिलाका लक्ष्मी कामी र जगत कामी दम्पति निकै खुशी छन् । परिवर्तनशिल महिला समूहकि सदस्य लक्ष्मी कामी र जगत कामी उमेरले चालीस वसन्त पार गरे। एकल परिवार रहेका उहाँहरुका न छोरा छन् न त छोरी नै । जिविकोपार्जन गर्न धौ धौ भएका बेला दलित सहयोग समाज बझाङको समान व्यवहार परियोजनाबाट केही दिन अघि मात्रै केही राहत मिलोस् भन्ने हेतुले ६० चल्ला (गिरिराज) कुखुरा प्रदान गरे । लक्ष्मी कामी दम्पती अहिले कुखुरा हुर्काउनमा व्यस्त देखिन्छन् । घर नजिकैको सानो टिनको घर भित्र राखिएका सो कुखुराबाट राहत मिल्नेमा ढुक्क देखिन्छन् ।

दलित सहयोग समाज बझाङको समान व्यवहार परियोजना अन्तर्गत कुखुरा, बाख्रा, भैंसी पाउने मात्र नभई एकल महिला तथा विपन्न महिलालाई तीन महिने आधारभूत सिलाइकटाइ तालिम समेत प्रदान गरिरहेको छ ।

बुंगल नगरपालिकाको वडा नम्बर ११ दहतालमा तीन जना अति विपन्न र एकल महिला सिलाइकटाइ सम्बन्धि तालिम सिकिरहेका छन् । २०७९ फागुन सत्र देखि २०८० जेठ १७ सम्म तीन महिने आधारभुत सिलाइकटाइँ तालिम रहने सो अवधीमा ताकिम दिइरहन लागेको अहिले दुई महिना पुग्यो ।

“कुर्ता सुरुवाल, प्वाइन्ट सट अनि महिलाले लगाउने चोली, तथा अन्य सिकिसकेँ, दलित सहयोग समाज बझाङको समान व्यवहार परियोजनाले आत्मनिर्भर बनाउने भयो, खुशी छु”- सिलाइ कटाइ तालिम लिइरहेकी गिता बोहराले भन्नुभयो । सो तालिममा गिता बोहरा, दिपिका ओखेडा र कविता ओखेडा गरि धारघरमा तीन जना सिलाइ सम्बन्धि तालिम लिइरहेका छन् ।

एकल महिला, हिंसा प्रभावित र बिपन्न परिवारकालाइ सीप सिकाउने ( समान व्यवहार परियोजना अन्तर्गत) बुंगल नगरपालिका वार्ड नम्बर ११ को हिनगडामा पनि ५ जना महिला सोही सिलाइ कटाई सम्बन्धि तालिम लिइरहेका छन् । मैना कुमारी बाग, निरा कामी, संगिता बोहरा, भुना महरा र दुरा साउँद बोहरा पनि २०७९ फागुन सत्र देखि २०८० जेठ सत्रसम्मको तीन महिने तालिममा व्यस्त छन् । दलित सहयोग समाज बझाङका अध्यक्ष मोहनलाल विकले प्रत्येक्ष अवलोकन गर्दा तालिम लिइरहेका महिलाहरु आत्मनिर्भर बन्ने हुनाले निकै खुशी देखिए । प्रत्येक व्यक्तिलाई चाहिने मेसिन उपकरण, कैँची, तालिम अवधिमा चाहिने धागो अनि कपडा र प्रत्येक व्यक्तिलाई दैनिक नास्ता खानको लागि चालीस रुपैयाँ समेत दलित सहयोग समाज बझाङको समान व्यवहार परियोजनाबाट प्रदान गर्दै आइरहेका छन् ।

बुंगल नगरपालिका वार्ड नम्बर १० टुमेडा । भौगोलिक दृष्टिकोणले विकट मानिएको बुंगल नगरपालिकाको उत्तरी भागमा पर्ने वडा । दलित सहयोग समाज बझाङ र युनाइटेड मिसन टु नेपालको साँझेदारिमा सञ्चालित समान व्यवहार परियोजनाद्वारा गठित गाउँसुधार महिला समूहका दिदिबहिनीहरु अहिले आफूमा धेरै परिवर्तन आएको बताउँछन् । पहिलापहिला छुवाछुत, जातियभेदभाव, लैंगिक हिंसामा आफूसमेत सामेल भएको बताउनेहरु अहिले तिँ सबै कुरामा परिवर्तन भएको बताउँछन् ।
पहिला महिनावाही भएकाहरु संग नबस्ने, बैठकमा छुट्टै बस्नेहरु अहिले एउटैमा बस्छन् । पहिला महिनावारी हुँदा गोठमा बस्ने, दहि महि नखानेहरु अहिले घरभित्र नै बसेर आफै भैंसी दुहेर दहिदूध खाने गरेको बताउँछन् । बालबिबाह न्यूनिकरण, जाँडरक्सी न्यूनीकरणमा पनि आफू सामेल भएको यहाँका महिला दिदिबहिनिहरुको जिकिर छ ।

वार्ड नम्बर १० को टुमेडामा गाउँसुधार महिला समुहको केही सदस्यहरुले सेनेटरी प्याड बनाउन समेत तालिम लिएका छन् । आफूले सेनेटरी प्याड बनाउने तालिम लिएपछि आफूलाई र अरुलाइ समेत काम लागेको उहाँहरुको भनाइ रहेको छ ।

सोही समुहकी ४१ वर्षिय कलामती बोहरा एकल महिला हुन् । समूह बाट एकल र विपन्न महिला भनेर अघि सारेपछी दलित सहयोग समाज बझाङको समान व्यवहार परियोजनाबाट ४ बाख्रा पाएको बताउँछन् ।
“दुई वर्ष हुन लाग्यो बाख्रा पाएको । यिनिहरुबाट भएका आधा बाख्रा बेचेँ । आफू एकल महिला हुँदा केही थिएन अहिले बच्चा पढाउन र घरखर्च चलाउन यसैबाट भएको छ ।” कलामती बोहराले भनिन् ।

गाउँसुधार महिला समुहकै एकल असहाय महिला संजा बोहरा उमेरले डाँडा माथिको घाम झैँ छिन् । ७६ वर्ष पूरा भएकी बोहराले दुई वर्ष पूरा भयो बाख्रा भएको । सोहिबाट नुन, तेल घरायसी कामकाज चलाउँछन् । सोही समुहकी ४४ वर्षिय एकल महिला शर्मा महरले सोलार पाएको थियो ।

बुंगल नगरपालिका वार्ड नम्बर ११ मा रहेको मखमली महिला समूहमा पनि दलित सहयोग समाज बझाङको समान व्यवहार परियोजना अन्तर्गत धेरैले सहयोग पाएका छन् । एक वर्ष अघि मात्रै सत्तरि हजार बराबरको भैंसी पाएकि महामती देवि बोहरा १५ /१६ हजार बराबरको दूध बेचेको बताइन् ।
“पन्ध्र सोह्र हजार बढिको दूध बेचेँ, अझै बेच्न मन थियो तर बजार भेटिनँ।” उनले भनिन् । सोही समुहकी पारा देवि बोहराले ४ वटा बाख्रा पाएकी छन् भने सोही समुहकी मनुरी देवि बोहरा छ महिने सिलाइकटाइ सिक्दै छिन् । मखमली महिला समूह ले मासिक १०० रुपैयाँ जम्मा गरेर एउटा कोष समेत खडा गरेको छ ।

गगन बोहरा उमेर – ४५ बुंगल ११ मौरिबाझ (कमेडिखान) पहिला चुरोट मद्ध्पान धेरै खाने ।
उमेरले ४५ वर्ष नाघेको बताउने गगन बोहरा लालिगुरास दाजुभाइ समुहको सहजकर्ता हुन् । केही समय पहिले अत्याधिक मध्यपान गर्ने बोहरा अहिले दुई वर्षदेखी खाने त परको कुरा छुन सम्म पनि नछोएको बताउँछन् ।

बुंगल नगरपालिकाकै ११ नम्बर वडामा रहेको सुर्यमुखी महिला समूहका सदस्य अहिले यो समान व्यवहार परियोजना पछि महिनावारी हुँदापनि भैंसी दुहुने, महिनावारी हुँदा दूध दहि खाने, घरभित्रै बस्ने, छोरा र छोरी बराबर भनेर समान व्यवहार गर्ने, ।
बालबिबाह नगर्ने / नगराउने । घरेलु हिंसामा न्यूनिकरण तथा सामाजिक दोन्द इत्यादी विषयमा सचेत भएको बताए ।

बुंगल नगरपालिकाका विभिन्न वडामा दलित सहयोग समाज बझाङ र युनाइटेड मिसन टु नेपालको साँझेदारिमा सञ्चालित समान व्यवहार परियोजनाले विभिन्न व्यक्ति समुदायमा विभिन्न कुरामा परिवर्तन ल्याएको छ । छुवाछुत , लैँगिक हिँसा, लैँगिक विभेद, सामाजिक दोन्द, बालबिबाह, मदिरा दुरुपयोग, समान व्यवहार तथा अन्य थुप्रै कुरामा जनचेतना फैलाउने काम मात्र नभई सामाजिक तथा समाजबाट तिरस्कृत, एकल महिला, असहाय महिला, विपन्न महिला तथा थुप्रै गरिब दुखिलाई विभिन्न सीप तथा आयआर्जनका लागि वस्तुभाउ र स्वयं रोजगारका लागि विभिन्न तालिमहरु दिँदै आइरहेको छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240