पत्रकारलाई हात समातेर बाहिर निकालि नगर सभामा मेयर र वडाध्यक्षको भनाभन
धनगढी उपमहानगरपालिकाको नगर सभा बैठकमा मेयर गोपाल हमाल र वडा नम्बर १८ का वडाध्यक्ष भुवन रिजाल बिच चर्काचर्की परेको छ ।
उनीहरुबिच करिब आधा घन्टा भनाभन भएको हो । वडाध्यक्ष रिजालले हमालले आफूलाई धम्की दिएको बताएका छन् ।
बैठक सुरु भएको करिब १ घण्टा ३६ मिनेटमा एजेन्डा सकिएको थियो । त्यसपछि नगर प्रमुख हमालले एजेन्डा सकिएको भन्दै विविध विषयमा भनाइ राख्न भने ।
त्यसपछि उठे वडा नम्बर १८ का वडाध्यक्ष रिजाल । अतिरिक्त विषयमा पुर्जा वितरणको कुरा उठाए ।
फूलबारीको १४,१५,१८ र १९ को समस्या बारे बुझाए । उनले त्यो कामलाई चाडै सम्पन्न गर्न आग्रह गरे । १३ र १८ को काम सकिएपछि १८ नम्बर मा खटाउन पनि आग्रह गरे ।
आग्रह पछि रिजालले मेयर हमाल प्रति जिज्ञासा पनि राखे । उनले विषयगत समितिमा एकलौटी गरेको आरोप लगाए ।
‘अहिले हामी नआउँदै चार वटा समिति घोषणा भयो । उहाँले निरङ्कुश स्वभाव देखाउनु भएको हो । स्वतन्त्र लडेर जिते पति रुख बोक्नु भएको हो की ? मेयर सापले मात्रै धनगढी बनाउने हो कि हामीले पनि बनाउने हो ?’ रिजालले हमाललाई भने ।
उनले त्यति मात्र भनेनन् । एकलौटी नगर सभा चलाएको भन्दै मुर्दावाद पनि भने ।
त्यसको प्रतिवाद गर्दै हमालले आफूले एकलौटी गर्ने मनसाय नराखेको प्रस्ट पारे । उनले एमालेका जनप्रतिनिधि उपस्थित भएको बेला प्रस्ताव राखेको बताए । प्रस्ताव पास गर्ने कि नगर्ने भन्ने बिषयमा कसैले पनि विरोध नगरेपछि पास भएको हमालको प्रस्टीकरण थियो ।
‘म गल्ती गरेको भए म स्वीकार गर्न तयार छु । गल्ती नगर्दा पनि गल्ती महसुस गराउन चाहनु हुन्छ मेरो म बाट पनि बहिस्कार छ ’ हमालले भने ।
तपाइलाई किन टाइममा आउनु भएन’ फेरी हकारे ।
‘खै एजेन्डा दिएको’ रिजाल कड्किए ।
‘सबैले पाए तपाइले किन पाउनु भएन’ हमाल पनि जङ्गिए ।
केहि बेर डेस्कमा बसेका हमाल र फ्लोरमा रहेका रिजाल बिच चर्का चर्की भयो ।
‘उपमेयर पनि आउनु भएको छैन । हामी पनि आएका छैनौ’ रिजालले भने ‘त्यो भन्दा पहिले कसरी योजना प्रस्तुत हुन्छ ?’
उनले मेयरले उपमेयरलाई छलफलमा बेलाएर भुलाएको समेत आरोप लगाए । रिजालले बैठकको कार्यसूची बारे पनि सूचना दिन आवश्यक रहेको बताए ।
‘मुहान जहाँ छ त्यहीबाट गल्ती भइरहेको छ । हामीले साथ दिएकै हो’ उनले भने ‘एमालेलाई मात्र टार्गेट गर्ने हो भने बहिस्कार हो तपाइ बहुमतमा लिएर जानुहोस् ।’
उनले पार्टीमा नहरेको व्यक्तिलाई यस्ता बिषय थाहा नभएमा आफूहरूले सिकाइदिने समेत बताएका थिए ।
हमालले फेरी त्यसको प्रतिवाद गर्दै आफूले छनोट गर्ने तीन जना मध्ये एक जना स्वयम् भुवन रिजाललाई छनोट गरेको बताए ।
‘एजेन्डा मैले प्रस्तुत गर्ने हो बहुमतको आधारमा निर्णय सुनाउने हो’उनले भने जे ‘मलाइ संवैधानिक अधिकार छ म त्यहि अधिकार प्रयोग गर्ने हो ।’
उनले तथ्य नबुझेर आक्रोशमा नआउन आग्रह गरे। भने, आक्रोशमा आउन हामीलाई पनि आउँछ। हामीले पनि जानेका छौँ । त्यस कारण त्यस्तो नगर्नुहोस् । त्यहि भन्न चाहन्छु । ’
मेयर हमालको यो अभिव्यक्तिलाई रिजालले आपत्ति जनाए ।
‘तपाइले के भन्नुभयो हो सुन्ड मुसुन्ड लगाउनु हुन्छ । ल देखाउनु होस् न त’ रिजालले पनि चुनौती दिए ।
उनले फेरी समिति बनाउँदा एकलौटी गरेको भन्दै विरोध गरे ।
वडा नम्बर १८ का अध्यक्षले विषयगत समितिको बिषय उठान गरेपछि मेयर हमाल र उनी बिच लामो चर्काचर्की भयो । को हो त समितिको विवाद ? नगरपालिकाले यस अघि राजश्व परामर्श समिति, सामाजिक विकास समिति, भौतिक पूर्वाधार विकास समिति,आर्थिक विकास समिति, वन वातावरण तथा विपद् व्यवस्थापन समिति र संस्थागत विकास तथा क्षमता अभिवृद्धि समिति गठन गरिएको थियो ।
एमालेका जनप्रतिनिधीहरुसँग सल्लाह नै नगरेर यी समिति गठन गरेको र यहाँ सभापति त परैको कुरा हो सदस्य समेत नदिएको भन्दै एमालेका जनप्रतिनिधि रुष्ट थिए । त्यसैमाथि सोमबार नगर सभामा एमालेका जनप्रतिनिधि उपस्थित नभएकै अवस्थामा लेखा समिति संयोजक सहित सदस्य, विधायन समिति संयोजक सहित सदस्य, सुशासन समिति संयोजक सहितका सदस्यहरू र न्यायिक समितिमा २ जना सदस्यको नाम पारित गरिएको थियो ।
नगर सभामा मेयर हमालले विषयगत समितिको कारबाही अगाडी बढाउन अनुरोध गर्छन् ।त्यसपछि हमालले नगर सभा सदस्य तर्फ इसारा गर्छन् । यता कार्यकारी अधिकृत मेयर हमालले ल्याएको प्रस्ताव पुन दोहो¥याउछन् ।
त्यस लगत्तै वडा नम्बर ४ का अध्यक्ष बुद्धि खड्का उठ्छन् र नाम प्रस्ताव गर्छन् । उनले प्रस्ताव मात्रै गर्दैनन् ताली बजाएर समर्थन गर्न पनि अनुरोध गर्छन् । उपस्थित नगर सभा सदस्यहरूले ताली बजाएर समर्थन गर्छन् ।
त्यसपछि उनले उक्त नाम नगरप्रमुखलाई दिन्छन् । नगरप्रमुख हमालले पुन नाम पढेर सुनाउँछन् । त्यस बेला सम्म एमालेका तर्फबाट उपप्रमुख सहितका वडाध्यक्षहरू उपस्थित भएका हुँदैनन् ।
हमालले हतार हतार हतारमा बहुमतले पास भएको घोषणा गर्छन् । आजको बैठकमा सञ्चारकर्मीलाई समेत जान दिइएको थिएन ।


बचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाईन पत्रीकाका सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
सम्पर्क नम्बर – ९८५८४८८०२४
