साइपाल गाउँपालिकाको धलौन माविका छात्राहरुमा देखियो मासहिस्टेरिया, पठनपाठन प्रभावित

सुदूरपश्चिमका पहाडी जिल्लामा अध्ययनरत प्रायः विद्यार्थीमा देखा परेको अनौठो रोग मासहिस्टेरिया रहेको छ । उक्त रोग अहिले बझाङको साइपाल गाउँपालिकामा पनि देखा परेको छ । प्रायः विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा मुर्छा पर्ने अनौठो रोग मासहिस्टेरिया केहि समय देखि सुदूरपश्चिमका सबै पहाडी जिल्लामा देखा पर्न थालेको हो । एकाएक बेहोस हुने, रुने, कराउने लगायतका समस्या विद्यार्थीमा देखा गर्न थालेपछि अभिभावक चिन्तित बनेका छन् । गत बुधबार साइपाल गाउँपालिका – २ को धलौन माध्यामिक विद्यालयमा अध्ययनरत छात्राहरु बेहोस भए । एक जना बेहोस भएपछि सँगै भएका अरु विद्यार्थी पनि बेहोस भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बसन्त बोहोराले बताए ।
‘गत हप्तादेखि यस प्रकारको लक्षण विद्यार्थीहरुमा देखा पर्दै आएको छ। एक छात्रामा देखा परेपछि सँगै रहेका अन्य छात्रामा पनि यस्तो समस्या देखिने गरेको छ। लहरै विद्यार्थीहरु बेहोस हुने र छटपटाएर अनौठा हर्कत गर्ने गरेका छन्।’ विद्यार्थीहरु रुने, कराउने, बेहोस हुने, काँप्ने, ढल्ने, मुर्छा पर्ने, चिच्याउने, हाँस्ने, दौड्ने, काँप्ने लगायतका समस्या देखा परेको बोहोराले बताए। उनका अनुसार आफैँले आफैँलाई दाँतले टोक्ने तथा एक जनालाई भयो भने अरुलाई पनि सँगै हुने गरेपछि नियमित पठनपाठनमा समस्या भइरहेको छ । विद्यालयमा उक्त समस्या देखिएपछि गत हप्ता तिन दिन विद्यालय बन्द गरेको प्रध्यानाध्यापक हिक्मत बहादुर सिहँले बताए । विद्यालय सञ्चालन गरेको अर्कोदिन फेरि समस्या दोहारीएपछि आजबाट आइतबारसम्मका लागि विद्यालय बन्द गरिएको उनले बताए ।
यसअघि उक्त समस्या जिल्लाको बुङ्गल नगरपालिका र खप्तडछान्ना गाउँपालिकामा पनि देखिएको थियो । प्रायः १३ देखि १४ वर्ष उमेर समुहका बालबालिकाहरुमा यस्तो समस्या देखिने गरेको सायपाल गाउँपालिका अध्यक्ष मान बहादुर बोहोराले बताए । केहिले त यस्तो समस्या देखा पर्नुलाई देवीदेउताको दोषको रुपमा पनि लिने गरेका छन्।कतिपयले भुतप्रेतको संज्ञा समेत दिने गरेका छन्। तर जिल्ला स्वास्थ्य कार्यालय बझाङका प्रमुख डा नवराज जोशीले यो मानसिक समस्या भएको भन्दै मास हिस्टोरियाका कारण यस्तो समस्या आएको बताए। ‘एक जना छात्रा विद्यालयमा बेहोस भएको देखेर अरु छात्राहरु डराएर बेहोस भएका हुन् । डा.जोशीका अनुसार कुनै घटना र समस्याबाट डराएर धेरै जना एकै पटक बेहोस हुनुलाई मास हिस्टेरिया भनिन्छ । छात्र भन्दा छात्राहरुको मन कमजोर हुने भएकाले बढी मात्रामा छात्राहरुमा मास हिस्टेरियाले भेट्ने गरको उनको भनाई छ । एक छात्रा बेहोस भएपछि आफूहरुलाई पनि उसकै जस्तो हुनसक्ने डर र चिन्ताका कारण विद्यालयका अरु छात्राहरु अतालिएर बेहोस भएको डा.जोशीले उल्लेख गरे । यस्ता लक्षण देखिएका बालबालिकालाई छुट्टा–छुट्टै स्थानमा राखेर मनोसामाजिक परामर्श दिनुपर्ने जोशी बताउँछन् ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240