बझाङमा ८३ बर्षिया बृद्धलाई प्रमुख जिल्ला अधिकारीले दिए घरमै नागरिकता
उत्तमकुमार थापा
बझाङको छविसपाथिभेरा गाउँपालिका–४ झुटेडाकी बिशु थापाले ८३ वर्षको उमेरमा नेपाली नागरिकता पाएकी छन्।
सोमबार बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेय नेतृत्वको टोलीले शारीरिक रूपमा पूर्ण अशक्त रहेकी थापालाई घरमै पुगेर नेपाली नागरिकता प्रदान गरेको हो।
यातायातको सहज पहुँच नहुँनु र सदरमुकाम चैनपुरसम्म ल्याएर नागरिकता बनाउन सक्ने अवस्था नभएकाले थापाको घरमै गएर प्रमाणपत्र प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताए।

नागरिकताको प्रमाणपत्र प्राप्त गरेपछि थापा खुसी भएकि छन्। थापाको पहिले बनाएको नागरिकता एक वर्ष पहिला हराएकाले सामाजिक सुरक्षा भत्ता बीचमै रोकिएको छविसपाथिभेरा गाउँपालिका–४ का वडाध्यक्ष अम्मराज थापाले बताए।
उनले भने, ‘पहिला घरघरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गथ्र्याै। अहिले बैंकमा जानुपर्ने भएकाले नागरिकता बिना बैंकले मान्दैन। नागरिकता हराएकाले भत्ता रोक्किएको थियो। अब फेरि पाउनुहुने भयो।’

नागरिकता प्राप्त भएसँगै अब थापाको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने बाटो समेत खुलेको छ।

उत्तम कुमार थापा (काजी) सुदूरपश्चिम प्रदेशको बझाङ जिल्ला ब्यूरो प्रमुख तथा संवाददाता हुनुहुन्छ । उहाँ समाजका हरेक कुराको लागि आवाज उठाउनु हुन्छ र समाजका अन्याय अत्याचार विरुद्ध कलम चलाउनुहुन्छ ।
उहाँसंग सम्पर्कको लागि – ९८६५७७०५३३
