बझाङको सुर्मा गाउँपालिकाका दुई विद्यालयमा पाँच वर्ष देखि एउटै समिति

बझाङको सुर्मा गाउँपालिकाको दुई विद्यालयमा विद्यालय व्यवस्थापन समितिको कार्यकाल सकिदा पनि नयाँ कार्य समिति चयन नगरी पुरानै समितिलाई निरन्तरता दिएको छ । सुर्मा गाउँपालिका शिक्षा शाखा प्रमुख र गाउँपालिकाका अध्यक्षको निर्देशनमा सुर्मा माध्यमिक विद्यालय थकुन्नाडा र धल्देउ माध्यमिक विद्यालय सैनगाँउमा पुरानो कार्य समितिको पदावधि सकिएको दुई बढी भईसक्दा पनि नयाँ समिति गठन गरेको छैन ।

सुर्मा गाउँपालिका वडा नं ४ थकुन्नाडामा रहेको सुर्मा माध्यमिक विद्यालयमा प्रधानाध्यापक देव बहादुर पुजाराका भाइ टिकाराम पुजारा अध्यक्ष छन् । वडा नं ५ मा रहेको धल्देऊ माध्यमिक विद्यालय सैनगाउँमा गाउँपालिकाका अध्यक्ष खडक बोहराका ज्वाँई चक्र बोहरा अध्यक्ष छन् ।

पहिलो चरणको स्थानीय तहको निर्वाचनको समयमा गठन भएको समिति अहिले सम्म परिवर्तन भएको छैन । गाउँपालिकाका सबै विद्यालयमा दुई वर्ष अघि नयाँ विद्यालय व्यवस्थापन समिति गठन भए पनि यी दुइृ स्कुलमा हाल सम्म नयाँ समिति गठन नभएको स्थानीयको भनाई छ । अरू विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति गठनका लागी शिक्षा शाखाले पत्राचार गरेर नयाँ समिति गठन भई सो समितिको पनि कार्यकाल सकिन लागेको छ तर यी दुई विद्यालयमा पाँच वर्ष भन्दा बढी समय बिती सक्दा पनि अभिभावक भेला बोलाएको छैन । अभिभावकले बेला बेला आवाज उठाए पनि गाउँपालिकाले सुनुवाइ नगरेको एक स्थानीयले बताए ।
यस विषयमा गाउँपालिका शिक्षा शाखा प्रमुख कवीन्द्र बोहरालाई बुझ्दा पुरानो समितिको कार्यकाल सकिएपछि भेला बोलाएको र पुरानै समितिलाई निरन्तरता दिने भनेपछि सोहि समितिलाई यथावत् राखेको बताए । कार्यकाल सकिएपछि सबै विद्यालयलाई समिति गठनका लागी पत्राचार गरेको र सबै विद्यालयमा नयाँ समिति गठन गरेको भए पनि यी दुई विद्यालयले पुरानै समितिलाई निरन्तरता दिने निर्णय गरेकोले शिक्षा शाखाले सोही समितिलाई मान्यता दिएको बताए ।

स्थानीयले भने विद्यालयले अभिभावक भेलाका लागी कुनै सूचना जारी नगरेको र विद्यालयका प्रधानाध्यापक, शिक्षा शाखा प्रमुख र जनप्रतिनिधिको मिलेमतोमा विद्यालयका योजना र शिक्षक सरुवा तथा भर्नामा आफ्ना आफन्त राख्ने योजना अनुसार सुनियोजित तवरले नयाँ समिति गठन नगरेको आरोप लाएका छन् ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240