एमाले अध्यक्ष ओली र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच मंगलबार भेटवार्ता भएको छ।

भक्तपुरको बालकोटस्थित ओली निवासमा दुवै जनाबीच सत्ता गठबन्धनमा भएको सहमतिबारे छलफल भएको बताइएको छ।

सरकार गठन हुँदा सत्ता गठबन्धन दलहरूबीच भएको सहमति कार्यान्वयनमा समस्या आएको र सहमतिअनुसार गृह मन्त्रालय आफ्नो पार्टीले पाउनुपर्ने अडान सभापति लामिछानेले अध्यक्ष ओलीसँग राखेको उनको सचिवालयले जनाएको छ।

भेटवार्ताका क्रममा अध्यक्ष ओलीले सत्ता गठबन्धनबीच भएको सहमति कार्यान्वयनको पक्षमा आफू रहेको बताएका थिए।

लामिछानेले मंगलबारै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि भेट गरेका थिए।

प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर लामिछानेले आफूलाई गृह मन्त्रालय दिन प्रचण्डसँग माग गरेका थिए।

गृह नपाए सरकारलाई दिएको समर्थन फिर्ता लिने लामिछानेको चेतावनी छ।

नागरिकता प्रकरणमा सांसद पद गुमाएका लामिछानेले आइतबार पुन: नागरिकता लिएका छन्। नागरिकता लिएलगत्तै पुन: पार्टीको सभापति बनेका लामिछानेले आइतबार पनि प्रधानमन्त्री प्रचण्डलाई भेटेर गृह मन्त्रालय मागेका थिए।

प्रधानमन्त्री प्रचण्ड भने रविलाई गृह दिन इच्छुक छैनन्। उनले गृह मन्त्रालय आफ्नै पार्टीसँग राख्न चाहेका छन्।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240