बझाङका सुब्बा शिवराज उपाध्याय विरुद्ध करोड बढी भ्रष्टाचार मुद्दा दायर
बझाङ, सुर्मा गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय, बझाङका नायब सुब्बा शिवराज उपाध्यायविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
तत्काल जिल्ला हुलाक कार्यालय, बझाङमा कार्यरत रहँदा गैरकानूनी स्रोत नखुलेको सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदनमा अनुसन्धान गर्दा उनले भ्रष्टाचार गरेको देखिएको अख्तियारले जनाएको छ।

उनले सार्वजनिक पद धारण गरेको २३ वर्षको अवधिमा विश्लेषण गर्दा उपाध्यायले २८ लाख ९ सय ११ आम्दानी गरिएको देखिएको तर सोही अवधिमा उनको खर्च तथा लगानीतर्फ हेर्दा जग्गा खरिदमा, घर निर्माण, अध्ययन खर्च, कर्जाको साँवाब्याज भुक्तानी, बीमाको प्रिमियम भुक्तानी, विद्युतीय उपकरण खरिद, सुन खरिद सवारी साधन खरिद र बैंक मौज्दातसमेत गरी जम्मा एक करोड सन्ताउन्न लाख पाँच हजार एक सय चौतिस रूपैंया पच्चीस पैसा देखिएको अख्तियारले जनाएको छ।
यसरी हेर्दा समग्रमा एक करोड नौ लाख चार हजार दुई सय बाइस रूपैयाँ पचास पैसा आयभन्दा बढी खर्च तथा लगानी गरेको देखिन्छ।
‘निज सार्वजनिक सेवा प्रवेश मिति २०५५।०५।२५ गते देखि मिति २०७८।०३।३१ गते सम्मको आय व्यय विवरणमा विभिन्न मितिमा कुल जम्मा रकम रू.एक करोड दश लाख सतसठ्ठी हजार सात सय ३८ रूपैयाँ बराबरको स्रोत नपुगेको देखिएको हुँदा सार्वजनिक पद धारण गरेका शिवराज उपाध्यायले भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसूर गरेको पुष्टि हुन आएकोले निज शिवराज उपाध्यायलाई बिगो एक करोड दश लाख सतसठ्ठी हजार सात सय अड्तीस रूपैयाँ मात्र कायम गरी भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २० को उपदफा (२) बमोजिम विगो बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिइएको छ’, अख्तियारको जारी विज्ञप्तिमा उल्लेख छ।
यसैगरी आरोपीको नाममा रहेको जग्गा जमिनबाट असुल उपर गरी जफत गर्न मागदाबी लिइएको अख्तियारले जनाएको छ।
(सेतोपाटिबाट)

बचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाईन पत्रीकाका सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
सम्पर्क नम्बर – ९८५८४८८०२४
