बझाङ खप्तड छान्नाका स्थानिय भन्छन् – दुइवर्ष बित्यो राहत आएन
खप्तडछान्ना गाउँपालिका–५ का विष्ट परिवार पनि अहिले खापरदेव क्याम्पसको भवनमा आश्रय लिइरहेका छन्। गत वर्ष कात्तिकमा आएको अविरल बाढीका कारण घरको जगदेखि नै पहिरो आउँदा भागदौड मच्चिएको थियो। स्थानीय सरकारले चासो नै नदिएपछि उनीहरू अहिले क्याम्पसको भवनमा बस्दै आएका छन्। वडा नं १ को मुसुराडीमा पनि बाढीपीडित राहतकै पर्खाइमा बसेका छन्। बाढी आएको बेलामा ज्यान जोगाउन भागेका दलित समुदाय अहिले पानी पर्दासमेत निदाउन सक्दैनन्।

वडा नं १ का वडाध्यक्ष देवीभक्त जोशी भने आफूसँग बजेट नहुँदा केही गर्न नसकेको बताए। “बाढीपीडितलाई निकै समस्या छ। तर हामीसँग सहयोग गर्नलाई बजेट पनि छैन। यस वर्षका लागि बजेट त छुट्याएका छौँ । तर पीडित धेरै भएको हुँदा पर्याप्त भने मुस्किल नै छ”, उनले भने।
खप्तडछान्ना गाउँपालिकाका अध्यक्ष उत्तमबहादुर रोकाया पनि बजेटको अभाव नै देखाए। “खातीगाउँवासीको मात्रै होइन, छान्नामा धेरै नै बाढीपीडित छन्। उहाँहरूका लागि हामीले सोचेका छौँ । बजेटको अभावले समस्या भएको हो। यसपटक समस्या समाधान हुन्छ”, उनले भने।
रोकायाले अघिल्लो सरकारले बजेटबिना नै रकम छुट्याएको बताए। उनले भने, “अघिल्लो सरकारले बजेटबिना नै छुट्याएको थियो, त्यसैले दिन सकेन। अहिले बाढीपीडितका लागि रकम छुट्याएका छौँ, कार्यान्वयनमा गइसकेको छ।” आफूसँग पर्याप्त बजेट नभएको भन्दै उनले भने, “हामीसँग ठूलो बजेट पनि छैन, संघीय सरकारसँग पटक–पटक आग्रह गर्दा पनि चासो देखाएन। गृहमन्त्री नै अवलोकनका लागि आएको बेला सङ्कटग्रस्त क्षेत्र घोषणाका लागि माग गर्यौ, तर कतैबाट सुनुवाइ भएन।” -राससबाट

राकेश खड्का यस कामना टेलिभिजन तथा यस बाट सञ्चालित अन्लाईन पत्रीकामा व्यवस्थापकको भुमिका निर्वाह गरिरहनुभएको छ । उहाँ समाचार तथा विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
उहाँसंग सम्पर्कको लागि – ९८५८४८८०२३
