प्रत्यक्ष चुनावी मैदानमा जाँदै, एमालेका युवानेताहरू

काठमाडौं । ठाकुर गैरे र यज्ञराज सुनुवार २०६३ सालमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षका प्रतिस्पर्धी थिए । राष्ट्रिय सम्मेलनले गैरेलाई अध्यक्ष चुन्यो, पराजित भएका सुनुवार काठमाडौंबाट झोला बोकेर जन्मथलो ओखलढुंगा फर्किए ।लगत्तै भएको २०६४ सालको पहिलो संविधानसभामा एमालेबाट उम्मेदवार बनेका सुनुवार थोरै मतले पराजित भए पनि त्यसपछिका दुइटा चुनावमा सानदार मतसहित संसद र संविधानसभामा पुगे । तर, उनलाई अखिल अध्यक्षमा हराउने ठाकुर गैरेले भने अहिलेसम्म चुनाव लड्ने मौकै पाएनन् ।

गुटमा सीटको बाँडफाँट हुँदा पाल्पा २ माधव नेपालका सम्धी सोमप्रसाद पाण्डेको भागमा परेका कारण पनि गैरे पछि परे । किनकि उनी पनि सोही गुटमा रहे । यसपटक भने ठाकुर गैरे सम्भवतः पहिलोपटक प्रत्यक्ष चुनावी प्रतिस्पर्धामा उत्रिँदैछन् । पाण्डे नेकपा एसमा लागेका कारण गैरेले पाल्पा २ बाट टिकट पाउन सक्छन् ।
गैरेमात्र होइन जनवर्गीय संगठन र पत्रकारिता क्षेत्रमा काम गरेर राष्ट्रिय छवि बनाएका एमालेका केही युवा नेता यसपालि पहिलोपटक प्रत्यक्ष चुनावको मैदानमा उत्रिने तयारीमा छन् । गठबन्धनको चुनौती सामना गर्दै प्रत्यक्ष चुनाव लड्ने चाहना राखेर युवा नेताहरुले लबिङ गरिरहेका छन् ।

ठाकुर गैरेभन्दा अगाडि अनेरास्ववियुको अध्यक्ष भएका खिमलाल भट्टराईले पनि अहिलेसम्म प्रत्यक्ष चुनाव लड्न पाएका छैनन् । हाल राष्ट्रियसभा सदस्य रहेका भट्टराई पार्टीले टिकट दिए रुपन्देही क्षेत्र नम्बर ५ बाट उम्मेदवार बन्ने तयारीमा छन् । तर, उनी पार्टीको तर्फबाट राष्ट्रियसभामा महत्वपूर्ण जिम्मेवारीमा रहेकाले सो ठाउँ रिक्त गर्न नहुने मत पनि छ ।

खिमलालभन्दा पहिले नै अखिल अध्यक्ष भएका रुपनारायण श्रेष्ठसँग पनि प्रत्यक्ष चुनाव लडेको खासै अनुभव छैन । २०५६ सालमा नेकपा एमाले फुटेको बेला नेकपा मालेबाट मोरङमा उम्मेदवार बनेका श्रेष्ठ हाल पार्टीको केन्द्रीय सदस्य छन् । उनी पनि मौका पाए काठमाडौं क्षेत्र नम्बर १ बाट चुनाव लड्ने तयारीमा छन् ।

यीबाहेक अनेरास्ववियुकै पूर्वअध्यक्ष माधव ढुंगेल पनि प्रत्यक्ष चुनाव लड्ने तयारीमा छन् । दुईपटक एमाले केन्द्रीय सदस्य भइसकेका ढुंगेलले यसअघि पहिलो पुस्ताका लागि छाडे पनि अब युवाको पालो भन्ने अभियान चलाएका छन् । उनी रामेछापबाट प्रतिनिधिसभा सदस्यको तयारीमा छन् । नयाँ पुस्तालाई जिम्मेवारी दिँदै नेतृत्व जाम हटाउनुपर्ने भनेर उनले नेताहरुलाई आफ्नो तयारीबारे बताइसकेका छन् ।

ढुंगेलपछि अखिल अध्यक्ष बनेकी नवीना लामा हाल समानुपातिकबाट प्रतिनिधिसभा सदस्य छिन् । उनी पनि अब प्रत्यक्ष चुनाव लड्ने तयारीमा छन् । काभ्रे क्षेत्र नम्बर १ बाट प्रत्यक्ष चुनाव लडेर प्रतिस्पर्धामा उत्रिने उनको चाहना नेताहरुसँग व्यक्त गरिसकेकी छन् । समानुपातिक सांसद बन्नेबाहेक उनीसँग स्वतन्त्र विद्यार्थी युननियनदेखि अखिलका हरेक चुनाव प्रत्यक्ष लडेरै जितेको अनुभव छ ।

नवीनापछि अखिल अध्यक्ष बनेका ऐन महर विद्यार्थी राजनीतिबाट बिदा भएसँगै गृहजिल्ला बझाङमै केन्द्रित छन् । एमाले केन्द्रीय सदस्यसमेत रहेका महरले पनि बझाङबाट प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी गरिरहेका छन् । अधिकांश समय जिल्लामै बिताइरहेका उनी केन्द्रमा पहुँचका कारण पनि सर्वसाधारण तथा कार्यकर्ताबीच लोकप्रिय बनिरहेका छन् ।

हालैमात्र अनेरास्ववियुको उपाध्यक्षबाट बिदा भएका महेश बर्तौला मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका आकांक्षी हुन् । हाल एमालेको बागमती प्रदेश कमिटी उपसचिव रहेका बर्तौला दुईपटक मकवानपुर बहुमुखी क्याम्पसको स्ववियु सभापति भइसकेका लोकप्रिय युवा हुन् । उनले पनि अब युवाको पालो भन्दै आफ्नो तयारीबारे नेताहरुलाई जानकारी गराएका छन् ।

युवा संघका पूर्वमहासचिव निरज आचार्य पनि पहिलोपटक चुनावी मैदानमा उत्रिँदैछन् । २०५४ सालमा जिल्ला विकास समिति सदस्य भएका आचार्यले त्यसयता चुनाव लड्न पाएका छैनन् ।

युवा संघ अध्यक्षमा महेश बस्नेतसँग पराजित आचार्यले अघिल्लो चुनावमा प्रदेशसभाको टिकट पाए पनि खोसिएको थियो । यसपटक उनी जाजरकोटबाट प्रत्यक्ष निर्वाचनको तयारी गर्दैछन् ।

सञ्चार कर्मबाट चुनावी मैदानमा
पत्रकारिताबाट राष्ट्रिय छवि बनाएका सूर्य थापा, विष्णु रिजाल र सुवास देवकोटा पनि पहिलोपटक प्रत्यक्ष चुनावको तयारीमा छन् । थापा नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य तथा प्रेस चौतारीका पूर्वमहासचिव हुँदै हाल एमालेको पोलिटव्युरो सदस्य छन् ।

प्यूठानबाट प्रत्यक्ष चुनावको तयारी गरिरहेका थापाले गठबन्धनसँग एक्लै भिडेर पनि एमालेलाई प्यूठानमा पहिलो पार्टी बनाएका छन् । लामो समय प्रचार विभाग उपप्रमुख र पर्यटन विभाग प्रमुख हुँदै पछिल्लो समय उनी जिल्ला इन्चार्जको भूमिका लिएर प्यूठानमा केन्द्रित छन् ।

त्यस्तै प्रेस चौतारीका पूर्वमहासचिव तथा दुईपटक एमाले केन्द्रीय सदस्य भइसकेका प्रचार विभाग प्रमुख विष्णु रिजाल पनि अब जिल्लाबाटै प्रत्यक्ष चुनाव लड्ने तयारीमा छन् । रिजाल अघिल्लोपटक प्रदेशसभा सदस्यमा सिफारिस भएका थिए । यसपटक दैलेख क्षेत्र नम्बर २ बाट उनी एमालेको सम्भावित उम्मेदवार हुन् ।

लामो समय व्यवसायिक पत्रकारितमा लागेर स्थापित सुवास देवकोटा पनि प्रत्यक्ष चुनावको तयारीमा रहेका एमालेका युवा नेता हुन् । दशौं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका देवकोटा सिन्धुलीबाट चुनावको तयारीमा छन् । सहिद ऋषि देवकोटा आजादका छोरा सुवास पछिल्लो समय जिल्लामै केन्द्रित छन् ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240