जनताको नजिकको सरकार स्थानीय सरकार
नेपालमा हाल ३ ओटा तहयुक्त शासकीय र प्रशासनिक संरचना रहेको छ । त्यसमध्ये पनि जनताको नजिक रहने गरी ७५३ ओटा स्थानीय तहहरू तय भई सोहीअनुरूप २०७४, २०७९ मा भएको स्थानीय तहको निर्वाचनपश्चात् स्थानीय तहका सरकारहरू कानुनी, राजनैतिक एवम् प्रशासनिक औजारहरूमार्फत सञ्चालनमा छन् । स्थानीय तहहरू ३ किसिमका नगरपालिका र गाउँपालिकाका रूपमा वर्गीकृतसमेत छन् । विकास केन्द्रका रूपमा ती स्थानीय तहहरू र सेवा केन्द्रका रूपमा तहअन्तर्गतका ६,७४३ वडाहरूले स्थानीय बासिन्दाका सरोकारका विषयहरू नजिकबाट सम्बोधन गर्ने व्यवस्था मिलाइएको छ । नेपालले सङ्घीय प्रारूपको शासन सञ्चालनअन्तर्गत स्थानीय तहको सुसञ्चालनबाट थप प्रभावकारी सेवा प्रवाह र महसुस हुने गरी आर्थिक सामाजिक रूपान्तरण सम्भव हुने विश्वास लिइएको छ ।
यसरी हेर्दा जनताको नजिकको सरकारलाई कसरी स्थानीय बासिन्दाका विकास र सेवाका सरोकारहरू सम्बोधन गर्न सक्षम बनाउँदै समग्रमा मुलुकको समृद्धिको आधार बनाउने भन्ने नै स्थानीय तहसँग सम्बन्धित अहिलेको प्रमुख सवाल हो । भनाइ रहेको छ कि “लोकतन्त्रको जग गाउँबाट उठ्नुपर्दछ भने छानो केन्द्रबाट हाल्नुपर्दछ । यसको तात्पर्य हो कि स्थानीयदेखि केन्द्रसम्मको यथोचित भूमिकामा नै लोकतन्त्रको अभ्यासले शाश्वत रूप पाउँदछ । स्थानीय शासकीय तहमा रहेको विकास व्यवस्थापनका विविध अड्चनहरूकै कारण वा संलग्न जनशक्तिको निष्क्रियताको कारण पनि नतिजा निस्कने कामहरूभन्दा वितरणमुखी काममा लाग्ने प्रवृत्ति देखिएको छ ।

विगतदेखि हालसम्म हामीले अवलम्बन गरेको शैलीकै कारण विकासको पहल अपूरो र असफल देखिएको छ । जस्तो कि हामीले कृषिमा जोड दिने भन्यौं तर कृषियोग्य भूमि प्लटिङ भैरहेको छ, वन जङ्गल जोगाउने भन्यौँ तराइका धेरै जङ्गल सखाप भैसके, ऊर्जाको धनी भनेर दाबी गरेका छौं तर आयात गरेर काम चलाउनुपरेको छ, एकीकृत योजना तथा सेवा प्रवाह भन्यौं तर समन्वयमा चुक्यौं । गरिबी निवारण भनियो तर असमानता बढेको छ । पटकपटक भएका राजनीतिक परिवर्तनले जनजीविकाको विषयमा प्रत्यक्ष र महसुस हुने गरी सुधार हुन सकेको छैन । एउटा कुरा चाँहि के सत्य हो भने कुनै स्थान विशेषमा केही सन्देश दिन लायक कामहरू भएका छन् भने इमान्दार नेतृत्व र एकीकृत टिमका कारण भएको छ । ठुलो कामको पर्याप्त तयारी र साना तर अनुभूति हुने काम निरन्तर गरे मात्र समयले समृद्धि ल्याउँदछ, समाजले पत्याउँदछ अनि स्थानीय तहको औचित्य प्रमाणित हुन्छ । भनिन्छ कि सिर्जनात्मक काम गरेर नतिजा निकाल्नका लागि भने अवसरको कमी हुँदैन । आफ्नो भौगोलिक सीमाभित्र बसोबास गर्ने नागरिकहरूलाई सुरक्षाको प्रत्याभूति दिँदै स्थानीय सरकारप्रतिको अपनत्व र भरोसा बढाउन ढिला गर्नुहुँदैन । हामी नेपालीहरू यदि कुनै कुरामा कमजोर छौं भने मानवसिर्जित आनीबानी र संस्कृति र प्रवृत्ति नै हुन् जसलाई सुधार गर्ने र उदाहरण बन्ने अवसर स्थानीय तहलाई उपलब्ध छ । जस्तो कि जाँडरक्सी, जुवातासजस्ता गलत जीवनशैलीलाई कडा नियमन गर्ने, बजारको नियमन, कामलाई सानो ठुलो नभनी आआफ्नो पेसा व्यवसायमा समर्पित रहने, दैनिकरूपमा वा कुनै पनि कामको कार्ययोजनाअनुरूपको काममा समयपालनजस्ता अति महत्त्वपूर्ण पक्षमा सुधारलाई निरन्तरको कार्यसूचीका रूपमा समावेश गर्न सकिन्छ । स्थानीय तहले आफ्नो कार्यक्षेत्रका मागहरू र तत्काल पूरा गर्नसक्ने सम्भावनाका आधारमा योजना बनाउने स्रोत एवम् आवश्यकता नक्साङ्कन गर्ने, उपलब्ध विज्ञ समूहको रोस्टर तयार पारी प्रयोगमा ल्याउने, जोखिममा रहेको बस्ती र समूहको यथार्थ पहिचान गरी स्थानीय सहभागिता मै व्यवस्थापनको पहल गर्ने जस्ता कार्यसूची रहन सक्छन् । राम्रो कामका लागि प्रतिस्पर्धा गर्ने, सहकार्य गर्ने र सिक्ने विषयले स्थान पाउनुपर्दछ । धेरै नै महत्त्वपूर्ण विषय त छ कि अबको राजनीति विकासमूलक हुनुपर्दछ । राजनीतिले दिएको भिजन, मिसन एवम् लक्ष्यबाट निर्देशित भै प्रशासनिक संयन्त्रले काम गर्नका लागि अबको प्रशासन परम्परागत ढङ्गले कागजी घोडा दौडाउने, व्यक्तिपूजा गर्ने खालको हैन कि जनमुखी र समस्याको दिगो समाधानमुखी र प्रविधिमैत्री हुन सक्नु
पर्दछ । निष्ठा र मेहनतसहित काम गर्ने वातावरण बनेमा देखिने र महसुस हुने काम हुन सम्भव छ । सारमा भन्नुपर्दा अधिकारसँगै माइन्डसेटसमेत अनुकूल भएमा मात्र कामहरू अगाडि बढ्ने देखिन्छ । सङ्घीय र प्रादेशिक विधि र व्यवस्थाको सापेक्षतामा स्थानीय तहहरूले आआफ्नो विधि र कार्यक्रम तयार गरी वित्तीय एवम् प्रशासनिक संरचना र जनशक्ति व्यवस्थापनसमेत गरी स्थानीय सरकारलाई जनताको नजिकबाट सार्वभौमसत्ताको अभ्यास गर्ने विकेन्द्रित माध्यमका रूपमा उभ्याउनुपर्ने र तुलनात्मक रूपमा विगतभन्दा राम्रो सिद्ध गर्नुपर्ने चुनौती रहेको छ । हुन त स्थानीय स्वायत्त शासन र वित्तीय एवम् प्रशासनिक सङ्घीयतासमेतको अभ्यास हुने गरी स्थानीयस्तरमा स्वशासनको सम्भावना पहिलोपटक अहिलेको संविधानले जगाएको छ । तथापि जिम्मेवारीमा अन्यौलता र तहगत शासनको प्रारम्भिक अभ्यास भएको हुँदा स्थानीय सरकारहरूले जुन गति र तरिकाले काम गर्नुपर्ने हो सो मापदण्ड कायम नहुँदा निराशा फैलिँदो छ भने धेरै थरी अपेक्षाहरूको ओइरो एवम् आलोचनाहरूको झटारोबिच स्थानीय तहहरूले आआफ्नो परिस्थिति र क्षमताअनुसार काम गर्दै आएका छन् । तथापि कतिपय स्थानीय तहहरूले उदाहरणीय र सिर्जनात्मक कामहरू गरेको पनि पाइएको छ ।

बचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाईन पत्रीकाका सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
सम्पर्क नम्बर – ९८५८४८८०२४
